Connect with us
Advertisement

कहाँ चुके प्रचण्ड ?

Published

on

मानव सभ्यताको विकाससँगै मानिसले नौलो प्रयोग र जीवनयापनमा सरलता खोज्दै नयाँ ढंगबाट जीवन जिउने तरिका खोजी गरिरहेको हुन्छ । मानिसले आफ्नो स्वार्थ मिल्नेसम्मको समूह बनाई समाजको रुप दिएको हुन्छ । जबसम्म मानिसको स्वार्थ मिल्छ एकै समाज, एउटै संस्कृति एउटै धर्म अँगाल्ने हुन्छन् भने जब स्थान, समय र आवश्यकताअनुसार स्वार्थ फरक पर्दै जाने हुन्छ, समाज छुट्टिएर फरक स्वार्थ भएकाहरुको फरक वर्ग निर्माण हुँदै जान्छ ।

यसरी बनेका वर्गहरुबीच आफ्ना स्वार्थका विषयमा बहस, विवाद र द्वन्द्व हुन थाल्द, यसलाई वर्ग संघर्ष भनिन्छ । यो संघर्ष कहिलेकाहीँ निश्चित भूगोलमा त कहिले सर्वव्यापक रुपमा फैलिने गर्दछ । कर्ल माक्र्स, लेनिन, माओत्सेतुङहरुले शुरु गरेको वर्ग संघर्ष अलि व्यापक भयो भने चे ग्वेभारा, स्टालिनहरुदेखि केही नश्लवादीहरुले गरेको संघर्ष अलि फितलो रह्यो । समय र स्थानअनुसार अहिले पनि विभिन्न देशको भूगोलभित्र विभिन्न संघर्षहरु भइरहेका छन् ।

नेपालको सन्दर्भमा ऐतिहासिक कालखण्डदेखि विभिन्न प्रकारका शासन पद्धतिहरुको परीक्षण हुँदै आइरहेको छ । मुख्यतः राजतन्त्रात्मक शासन पद्धतिले नेपालमा लामो समयसम्म प्रभुत्व जमाएको पाइन्छ, कहिले शक्तिशाली भएर त कहिले सेरेमोनियल रहेर । जुन बेला राणाहरुको जहानियाँ शासन नेपालमा थियो, त्यो समयमा राजाहरु सेरेमोनियल मात्र थिए । राणाहरुको निरंकुश शासनबाट आजित बनेका नेपालीहरु बिस्तारै राणा शासकहरु विरुद्ध संघर्ष गर्न थाले र २००७ सालमा राणा शासनको अन्त्य गरी प्रजातान्त्रिक व्यवस्थाको शुरुवात गरे ।

फेरि राजा र राजनीतिक दलबीचको शक्तिसंघर्ष शुरु भयो र २०१७ सालमा जननिर्वाचित सरकार अपदस्त गरी राजाले दलरहित शासन व्यवस्था लागू गरे । यसरी प्रतिबन्धित राजनीतिक पार्टीहरु सशस्त्र र वैचारिक संघर्ष गरी आफ्नो शक्ति पुनस्र्थापना गर्न संघर्ष गर्न थाले । २०४६ सालमा राजालाई संवैधानिक दायरामा ल्याएर केही राजनीतिक दलहरुले राजासँग शक्ति बाँडफाँड गरी संघर्ष टुङ्ग्याए भने केही दलहरु राजालाई पूर्ण रूपमा विस्थापन गर्नुपर्छ भनेर भूमिगत संघर्षमा लागे, जसमध्येका एक हुन् प्रचण्ड ।

माथिको पृष्ठभूमि यहाँ किन उल्लेख गरियो भने प्रचण्डको उदय र प्रचण्ड उदयको सार्थकता बारे बुझ्न यो पृष्ठभूमिको आवश्यकता हुन्छ । राणा शासनको युगमा नेपाली समाजमा भिन्न स्वार्थका धेरै वर्गहरु थिएनन् । सामान्यतः पुरातन कृषि प्रणालीमा आधारित समाजमा सबैका स्वार्थ समान थिए त्यसैले वर्ग संघर्ष गर्नुपर्ने कारण नै थिएन । संघर्ष थियो त मात्र शासकहरुको थिचोमिचो विरुद्ध त्यो पनि आफूहरु थिचोमिचोमा परेको बुझ्न सक्ने नवनिर्मित वर्गलाई । समयक्रमसँगै बिस्तारै स्वार्थ र आवश्यकता परिवर्तन हुँदै गयो र विभिन्न स्वार्थका विभिन्न वर्गहरु तयार भए र वर्ग संघर्ष पनि चर्किंदै गयो ।

शिक्षा र प्रविधिको विकाससँगै मानिसमा चेतना पनि विकास हुँदै गयो र मानिस हरेक स्तरमा हरेक स्थानमा आफ्नो अपनत्व खोजी गर्ने हैसियतमा पुग्यो । वर्ग संघर्ष चर्किंदै जाँदा राज्यको स्रोत र साधनमा कब्जा जमाएर बसेकाहरु अन्य वर्गलाई दमन र निस्तेज पार्न लागे भने दमित वर्ग सशस्त्र संघर्ष गर्न थाले । यो क्रम चलिरहँदा देशमा कयौं शासक परिवर्तन भए तर संघर्षको व्यवस्थापन हुन सकेन । संघर्षकै दौरान २०५२ सालमा तत्कालीन सरकारसँग ४० बुँदे माग राख्दै हिंसात्मक सशस्त्र युद्ध घोषणा गरी तत् समयसम्म सिर्जना भएका अधिकांश उपेक्षित वर्गको नेतृत्व गर्दै संघर्षमा होमिएका पात्र हुन् प्रचण्ड ।

भर्खरै विकास हुँदै गरेको जनचेतना, विभिन्न स्वार्थ समूहका वर्गबीच उपेक्षा, जातीय उत्पीडन, गरिबी र पश्चिमा धर्म विस्तार प्रचण्डका लागि आन्दोलन गर्ने उर्वरभूमि बन्यो । जनतामा शासकहरुप्रति वितृष्णा, दलाल र पूँजीपति वर्गको सामाजिक भेदभावले पिल्सिएका जनता प्रचण्डबाट प्रभावित हुँदै गए । जसरी एउटा चलचित्र हेर्दै गर्दा नायकलाई मनोवैज्ञानिक रुपमा भएभरको शक्ति लगाएर समर्थन गरिन्छ, नायकका मिथक बनाएर नायकलाई देवत्वकरण गरिन्छ त्यसै गरी प्रचण्डलाई  प्रस्तुत गरिँदै गइयो र प्रचण्डले पनि कम्युनिष्ट पार्टीका केही किताब पढेर उपन्यास पढुन्जेल उपन्यासको नायक आफैँलाई ठानेजस्तो आफूलाई कम्युनिष्टको महानायक ठानिरहे ।

यसरी प्रचण्डको नेतृत्वमा तत्कालीन राज्यसत्तासँग युद्ध हुँदै गर्दा राजदरबार हत्याकाण्डदेखि राजाबाट राजनीतिक दलप्रतिको नकारात्मक दृष्टिकोण र कदमले त्यो बेलाका राजनीतिक दलहरु पनि राजतन्त्रको विकल्प सोच्न थालिसकेका थिए । यस्तो अवस्थामा प्रचण्ड नेतृत्वको माओवादी र तत्कालीन दलहरुको २०६२\६३ को आन्दोलनमार्फत् नेपालमा गणतन्त्रको शुरुवात भयो ।

त्यहाँसम्म प्रचण्डको नेतृत्व र कदम सही नै थियो । त्यसपछि प्रचण्डले आफू यहाँसम्म आउन कुन वर्गले कसरी साथ दिएका थिए भन्ने बिर्संदै जानु प्रचण्डको अधोगतिको कारण थियो । जब संविधान बनाउने जनमत लिएर चुनावमा आफ्नो दल सबभन्दा ठूलो दल बन्यो, प्रचण्डले हिजो गरेका वाचा, बाँडेका सपना सबै भुले । पहिले जनताबाट तिरस्कृत भइसकेका राजनीतिक दल र तिनीहरुकै मार्गमा प्रचण्ड लागे । उनलाई हरेक अवस्थामा साथ दिएका साथीहरुको साथ छुट्दै गयो भने पहिले वर्गशत्रु घोषणा गरेका दलाल पूँजीपति वर्गसँग प्रचण्डको साथ बाक्लिँदै गयो ।

चुनावमा आफ्नो दल सबभन्दा ठूलो राजनीतिक शक्ति बनेपछि प्रचण्डले हिजो युद्धमा साथ दिने जनतासँग कहिल्यै सल्लाह लिने आवश्यकता महसुस गरेनन् । यदि उनले आफ्नो दललाई सफलता दिएपछि युद्धको दौरानमा घरदैलोमा सपना बाँडेजस्तो जनताको घरदैलोमा पुग्नुपर्थ्यो । अब हामी सत्तामा पुगेका छौं अब कस्तो नीति कार्यक्रम बनाउने हो भनेर सल्लाह माग्न आएको भनेर जनताको राय लिने कोशिस गरेका भए शायद आज प्रचण्डको विकल्प कोही हुने नै थिएन । कम्तीमा बाबुरामले ‘जनतासँग प्रधानमन्त्री’ भन्ने कार्यक्रममार्फत् जनतामा पुग्ने कोशिश गरे तर प्रचण्डले त्यसलाई पनि हटाइदिए ।

जब प्रचण्ड सत्ताको रसमा रमाउन थाले उनका वरिपरि तिनै पूँजीपति र दलालले अड्डा जमाउन थाले । यतिसम्म कि उनका सहयोद्धासमेत उनको पहुँचमा पुग्न नसक्ने भए र पार्टी विभाजन गर्न बाध्य भए । आफ्ना परिवारका प्रायः सबै सदस्यलाई राज्यकोषबाट सेवा सुविधा मिल्ने गरी सरकारी नियुक्ति दिलाउनेदेखि निर्वाचन क्षेत्रमा दोहोरो निर्वाचन गराएर भए पनि छोरीलाई महानगरको मेयर बनाउने महासामन्ती रुप धारण गरी कम्युनिष्टको ताण्डव नृत्य देखाए । आफ्नै सहकर्मीलाई प्रतिबन्धित गरी आफ्नो स्वार्थको लागि विगतमा आफूलाई र आफूले नेतृत्व गरेको पार्टी र विचारधाराको आलोचना गरेर नथाक्ने केही कम्युनिष्ट सिद्धान्तका किताबका पाठकसँग स्वार्थ एकता गरी जनतालाई आफँैले बाँडेका सपनाको धज्जी उडाइदिए ।

हजारौं नेपालीको ज्यानको मूल्यसँग साटिएको गणतान्त्रिक व्यवस्थामा जनताले प्रचण्डबाट अन्य नेताको तुलनामा अधिक अपेक्षा राख्नु स्वाभाविक हो । तर त्यत्रो संघर्षको नेतृत्व गरेका प्रचण्डले यथास्थितिवादी दलका नेताभन्दा पनि सामन्ती संस्कार अँगाल्नु, राजनीतिक दुरदर्शिता नहुनु, यो युगको सफल क्रान्तिलाई व्यवस्थापन गर्न नसक्नु र समान उद्देश्यका सहयोद्धा छोडेर विसंगत शक्तिसँग स्वार्थ मिलान गर्नु प्रचण्डको महाभूल हो । अब प्रचण्डले पार्टी वा सत्ता जे हाँके पनि सामन्ती गतिमै चल्ने छ ।

प्रचण्ड चुकेको ठाउँ भनेको प्रचण्ड कम्युनिष्ट सिद्धान्तका पाठक बने तर साधक कहिल्यै बनेनन् वा बन्न सकेनन् ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

रवि लामिछाने आफ्लै भनेका थिए-म अमेरिकाबाट रित्तो हात फर्किएको हुँ।मैले बच्चालाई मासिक रुपमा नेपाल बाटै अमेरिका पैसा पठाउँन पर्छ।पैसा त रविलाई पनि चाहिएकै हुन्छ।उनी पनि कुनै अर्बपती त होइनन्।

Published

on

रवि लामिछाने आफ्लै भनेका थिए-म अमेरिकाबाट रित्तो हात फर्किएको हुँ।मैले बच्चालाई मासिक रुपमा नेपाल बाटै अमेरिका पैसा पठाउँन पर्छ।पैसा त रविलाई पनि चाहिएकै हुन्छ।उनी पनि कुनै अर्बपती त होइनन्।
सहकारीमा पैसा भाँडा माझ्ने,अरुको घर सफा गर्ने काम,कवाडी टिप्ने गरिब बचतकर्ताको हो भन्ने त्यतिबेला सम्म सोचेनन् होला।टन्नै पैसा भएको सहकारीमा दुई-चार करोड केही होइन र सहकारी नै डुब्ला जस्तो लागेन पनि होला!
पैसा लिने बेलामा म टिभी छोड्छु,पार्टी खोल्छु र सांसद हुँदै गृहमन्त्री सम्म बन्छु भन्ने सायदै कल्पना गरेका थिए होला! शुरुमै मैले पैसा लिएकै छैन भनिहाले।त्यसो भनिसकेपछि लिएको पैसा पनि फिर्ता गर्ने बाटो बन्द भयो।बिस्तारै यो केश जटिल बन्दै गयो रविको लागी।
नियतबस सहकारी डुबाउँछु,भनेर पैसा लिएका होलान् भन्ने मलाई लाग्दैन।तर,उनले लिएका भए त्यो पैसा गरिबको हो।आफ्नो र सन्तानको गाँस काटेर समेत कतिपयले पैसा जम्मा गरेका छन्।रवि एउटैले दुई-चार करोड चलाइदिदा धेरै बचतकर्ताको पैसा पनि रविसँगै छ।नियतवस रविले सहकारी नठगेपनी सहकारीको नियम बिरुद्ध चाँहि भयो।तर,सहकारी डुबाउँने मुख्य व्यक्ति र योजनाकार चाहि होइनन् रवि।
नेपाली कांग्रेसलाई सहकारी पिडितको पिर होइन।उस्ले त देशभरीकै सहकारी डुब्नुको मुख्य योजनाकार नै रवि लामिछाने हो जसरी प्रस्तुत भईरहेको छ।राजनितीक फाईदा लिने मौकाको रुपमा उपयोग गरेर योजनाबद्ध लागेको छ।एमाले सँगै देशको सबैभन्दा धेरै भ्रष्टहरु भएको पार्टी नै कांग्रेस हो।उस्लाई सहकारी पिडितको पैसा फिर्ता होस् भन्ने छदै छैन।रवि र रास्वपा पार्टी सिध्याउँने र यो गठबन्धन टुटाएर सत्तामा जाने योजनाका साथ अघि बढेको छ।
तपाईंको केही फरक कुरा छ भने भन्नूस्।
✍️ Ram Dhungana
Continue Reading

Banner

ट्राफिक प्रहरी हत्या प्रकरण : यी हुन् पक्राउ परेका १३ वर्षीय बालक सहित ७ जना

Published

on

काठमाडौँको दरबारमार्गस्थित ट्राफिक प्रहरी प्रभागमा कार्यरत प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा प्रहरीले १३ वर्षीय बालकसहित ७ जनालाई पक्राउ गरेको छ।  घिमिरेको शव काठमाडौँको तारकेश्वर-९ स्थित मनमैजुमा गत शुक्रबार फेला परेको थियो।

उनको हत्यामा संलग्न आरोपमा पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। उनीहरूलाई काठमाडौँ महानगरपालिका-१६ स्थित अष्टनारायण हलपछाडि र बाइसधाराको जंगलबाट भाग्न लागेको अवस्थामा हवाई फायर गरी पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका ७ जनामध्ये एक जना १३ वर्षीय बालक रहेको जिल्ला प्रहरी परिसर काठमाडौँ प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेले जानकारी दिए।

उनका अनुसार भक्तपुर चाँगुनारायण-१ घर भएका २१ वर्षीय आइते भन्ने सचिन परियार, नुवाकोट दुप्चेश्वर गाउँपालिका घर भएका १८ वर्षीय अञ्जली श्रेष्ठ, स्याङ्जा आँधीखोला गाउँपालिका-३ की २१ वर्षीया विपना/वसन्ती भनिने वसुन्धारा कार्की, , स्याङ्जा आँधीखोला गाउँपालिका-३ कै ५६ वर्षीय नुनमाया कार्की, नुवाकोट तादी गाउँपालिका, ओखरे घर भएका २१ वर्षीय बुद्ध लामा तामाङ, सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-१ का ३० वर्षीय अमृत तामाङ र उदयपुर घर भएका १३ वर्षीय बालकलाई पक्राउ गरिएको हो।

बालकको पहिचान भने प्रहरीले गोप्य राखेको छ। प्रारम्भिक अनुसन्धानमा लुटपाट, महिलासँग विवादलगायत कारण प्रहरी घिमिरेको हत्या भएको पाइएको प्रहरीले जनाएको छ।गत बिहीबार ड्युटी सकेर कार्यालयबाट निस्किएका प्रहरी जवान घिमिरेको शव गत शुक्रबार मनमैजुमा भेटिएको थियो। शुक्रबार अपराह्न स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीका अनुसार खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ घर भएका घिमिरे सामाखुसीमा डेरामा बस्थे।

Continue Reading

Banner

विश्व उच्च रक्तचाप दिवसको अवसरमा नोवेलको प्रभातफेरी

Published

on

विराटनगर । विश्वभर आजको दिन अर्थात मे १७ मा विश्व उच्च रक्तचाप दिवस मनाइने गरिएको छ । उच्च रक्तचापको जोखिम, यसलाई रोक्न अपनाउनु पर्ने विधी सम्बन्धी जनचेतना फैल्याउने उद्देश्यले यो दिवस मनाइने गरिएको हो ।

उच्च रक्तचाप सम्बन्धी जनचेतना फैल्याउने उद्देश्यले विराटनगरमा रहेको नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले आज महेन्द्रचोकबाट तिनपैनीसम्म प्रभातफेरी गरेको छ ।

नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका अस्पताल निर्देशक तथा बरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. राजेश नेपालले विराटनगर महानगरपालिका मेयर नागेश कोइरालालाई खादा र फुलको गच्छाले स्वागत गरे पछि सुरु भएको प्रभातफेरी कार्यक्रममा नोवेलका चिकित्सक, कर्मचारी, रेजिडेण्ट चिकित्सक, इन्टर्न चिकित्सक र विद्यार्थी,समाजसेवी लगायतको सहभागिता रहेको थियो ।

महेन्द्र चोकबाट सुरु भएको प्रभातफेरी तिनपैनी चोकमा पुगेर समापन भएको थियो । समापन कार्यक्रममा प्रा. डा. राजेश नेपालले विश्व उच्च रक्तचाप दिवसको बारेमा प्रकाश पारेका थिए । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उच्च रक्तचाप सम्बन्धी जनचेतना फैल्याउने उद्देश्यले नोवेलले गरेको प्रभातफेरी प्रति डा. राजेश नेपालसहित नोवेल टिमलाई धन्यवाद व्यक्त गरेका थिए । मन्तव्य व्यक्त गर्दै उनले विराटनगर महानगरपालिकाले पनि जनचेतना मुलक कार्यक्रमहरुमा सहकार्य गर्ने बताए ।

विश्व भरिनै मानिसको मृत्युको प्रमुख कारणहरु मध्ये उच्च रक्तचाप एक नम्बरमा रहेको छ । मानिसको बदलिदो दैनिकी, खानपान, पर्याप्त मात्रामा नसुत्ने र तनावयुक्त जीवनले उच्च रक्तचापको जोखिमलाई बढाउने गरेको छ । नेपालको सन्दर्भमा हरेक चार जना मध्ये एक जनालाई उच्च रक्तचाप रहेको पाइएको छ । उच्च रक्तचापको कारण हृदयघात, मस्तिष्कघात हुने, शरीरको विभिन्न अङ्गमा समस्या आउने, हातखुट्टाका नशाहरु बन्द भएर अङ्गभङ्ग हुने, आँखाको दृष्टी कम हुने, मृगौलामा समस्या आउने, यौन दुर्वलता हुने जस्ता विभिन्न समस्याहरु आउने गर्दछ । नियमित रुपमा रक्तचाप नाप्ने गरिएमा उच्च रक्तचाप भए नभएको वा औषधी सेवन गरी रहेका व्यक्तिहरुको रक्तचापको अवस्था थाहा पाउन सहज हुन्छ र समयमा नियन्त्रण गर्न सकिन्छ । त्यसैले यस बर्षको विश्व उच्च रक्तचाप दिवसको नारा पनि “तपाईको रक्तचाप सही ढंगबाट नाप्नु होस् । यसलाई नियन्त्रण गर्नुहोस् र दीर्घायु बन्नुहोस् ।” भन्ने रहेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक